काठमाडौं, १६ मंसिर । सर्लाही जिल्लामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भोलि बिहीबार गर्ने आमसभालाई चुरे भावर राष्ट्रिय एकता पार्टीले कदापि हुन नदिने चेतावनी दिएको छ ।
चुरे भावरले भोलिको मधेसी मोर्चाको आमसभालाई जसरी पनि रोक्ने चेतावनी दिएको हो । चुरे भावर राष्ट्रिय पार्टीका केन्द्रीय उपाध्यक्ष एवम् आन्दोलन परिचालन समितिका कमान्डर दीपमान लोप्चनले मधेसी मोर्चाले भोलि बिहीबार सर्लाहीको नवलपुरमा राखेको आमसभा कुनै पनि हालतमा गर्न नदिने बताए ।

‘मधेसी मोर्चाको आन्दोलन हिंसात्मक र सामाजिक सद्भावन भड्काउने खोलको छ’, उहाँले भन्नुभयो, ‘सर्लाहीमा मिलेर बसेका नेपाली जनतालाई बिभाजन गर्न मधेसी मोर्चाले आमसभा राखेकाले त्यसलाई कुनै पनि हालतमा गर्न दिँदैनौँ । जसरी हुन्छ बिथोल्छौँ । रोक्ने छौँ ।’ मधेसी मोर्चाले नवलपुरमा राखेको आमसभा र चरे भावर पार्टीले प्रतिकार गरेर बिथोल्न दिएको चेतावनीपछि स्थानीय प्रशासनलाई टाउको दुःखाइ भएको छ । चुरे भावरले प्रतिकार गर्ने भनेर तयारी गरेको थाहाको स्थानीय प्रशासन र प्रहरीले सर्लाही जिल्लामा उच्च सतर्कता अपनाएको छ ।
स्थानीय प्रशासनले सर्लाहीको नवलपुरमा हुन सक्ने सम्भाव्य भीडन्तलाई लिएर आजैदेखि सतर्कता अपनाएको स्रोतको भनाइ छ । चुरे भावरको आन्दोलन परिचालन समितिले नवलपुरको आमसभा रोक्नका लागि गाउँगाउँमा गोप्य भेला र तयार गर्दै हिँडेको छ । भोलि बिहीबारको आमसभा रोक्नका लागि चुरे भावरले दुई सय युवालाई गोप्य प्रशिक्षण दिएको चुरे भावरका एक नेताले बताए । ती युवाहरूलाई गोप्य स्थानमा तीन दिनसम्म प्रशिक्षण दिइएको थियो ।

यसअघि पनि मधेसी मोर्चाले सर्लाही जिल्लामा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरोध गर्न खोज्दा चुरे भावरका कार्यकर्ताले तीन किलोमिटर परसम्म लखेटेर भगाएका थिए ।
सो क्रममा चुरे भावरका कार्यकर्ताले मधेसी मोर्चाका कार्यकर्ता चढेका तीन दर्जन बढी सवारी साधनमा तोडफोड गरिदिएका थिए ।



Post a Comment

 
Top