१६ मंसिर, भैरहवा । बिहार र उत्तर प्रदेशका प्रहरीहरु यसै पनि घुस खान माहिर मानिन्छन् । सानो व्यापारीबाट थोरै तिनै रकम भए पनि असुल्नु उनीहरुको दिनचर्या नै हो । यतिबेला सीमा नाकामा सवारी साधन रोकिएका बेला खुद्रा घुस खाने भारतीय प्रहरीका लागि चाँदी कटाइजस्तै भएको छ ।
रुपन्देहीको सीमावर्ती भारतीय नाका सुनौलीमा भारतीय प्रहरीहरुको दुव्र्यहार र पैसा असुलीप्रति सवारी चालकहरुले गुनासो गरेका छन् । नेपाल छिर्ने सवारी साधनसँग भारतीय प्रहरीले घुस माग्ने गरेको चाहकहरुको गुनासो छ ।
भारतका विभिन्न स्थानबाट मालवाहक सवारी लिएर नेपाल आउन लागेका सवारी चालक/सहचालकहरुलाई भारतीय प्रहरीले नाकामै रोकेर कुटपिट गरी जबरजस्ती घुस माग्ने गरेको गुनासो गरेका हुन् ।
सवारी चालक, गाडी मालिक वा पार्टी (आपूर्तिकर्ता ) ले सीमावर्ती भारतीय प्रहरीलाई रकम नदिँदासम्म प्रहरीले गाडी नछाडेको चालकहरुले बताएका छन् ।
भारतीय प्रहरीले प्रतिगाडी ५ हजार देखि १ लाख रुपैयाँसम्म असुल गरिरहेको पीडितहरुको गुनासो छ । पैसा नबुझाउने सवारी साधनलाई भारतीय प्रहरीले दशगजामै रोकिदिने गरेको छ ।
नेपालमा आउनका लागि भारतीय नाका सुनौलीदेखि नौतनवासम्म लामवद्ध रहेका सवारीहरुलाई भारतीय प्रहरीले टोकन उपलबध गराई नियमअनुसार गाडी अगाडि बढाउन निर्देशन दिएको छ ।
भिडियो

तर, टोकन अनुसार नभई अतिरिक्त घुस रकम दिने सवारीलाई मात्रै सीमा पार गर्न दिइएको मुज्जफरपुर जिल्लाका भारतीय चालक मन्टु रायले बताए । ‘जसले प्रहरीलाई पैसा दिन्छ, उसको गाडीको नम्बर नोट गरिएको छ र त्यसको गाडीमात्रै छाडिएको छ,’ चालक रायले अनलाइनखबरसँग भने, ‘जसले पैसा दिएको छैन, त्यसको गाडी छिर्न दिइएको छैन ।’
एक महिनादेखि टोकन लिएर सवारीको लाइनमा रहे पनि अहिलेसम्म आफ्नो गाडी नेपाल जान नदिएको उनले गुनासो पोखे । ‘एक महिनादेखि गाडी लाइनमा थियो, हिजो रातिमात्रै छाडियो । तर, नाकामा आउँदा प्रहरीले गाडी दशगजामा राख्न लगायो’ रायले अनलाइनखबरसँग भने, ‘जसको पार्टीले पैसा बुझाएको छ, त्यसकोमात्रै गाडी पास हुन्छ, भन्यो, अब हामीले कहाँबाट प्रहरीलाई पैसा बुझाउने ?’
पीडित चालक राय भन्छन्- ‘गाडी मालिकले पनि पैसा दिएका छैनन्, पार्टीले पनि पैसा दिएको छैन, एक महिना भइसक्यो, हामीभन्दा पछाडि आएकोे गाडी पैसा बुझाएर गइसक्यो, ५० हजार ६० हजार १० हजार, जसले जतिमा मिलाउन सके मिलाएर आफ्नो गाडी खाली गरेर गइसके, हामी अझै दशगजामै अड्किएका छौँ ।’
नौतनवा (नाका देखि ८ किलोमिटर टाढा) भन्दा पछाडिदेखि नै आफुले भारतीय प्रहरीलाई पैसा दिँदै आए पनि प्रहरीले आफ्नो गाडी नछोडेको रायले बताए ।
भारतीय प्रहरीलाई ५ हजार भारतीय रुपैयाँ दिँदै नाकाको मुखमै आए पनि अन्तिममा प्रहरीले दशगजामा ल्याएर गाडी राख्न लगाएको उनले बताए ।
लाइनमा रहेको सवारीसँग प्रहरीले पैसा माग्दा नदिए चालकहरुलाई कुटपिट गर्ने गरिएको उनले बताए । ‘प्रहरीलाई पैसा दिएमा लाइनमा नभएको गाडी पनि अगाडि जान्छ । तर, पैसा नदिनेको गाडी लाइनमै हुन्छ, त्यसैमाथि कुटाइ पनि खाइन्छ, उनले भने, ‘भारतीय प्रहरीले पैसा माग्दा मैले दुई हजार रुपैयाँ मात्र छ भनें, तर, त्यो दुई हजार रुपैयाँ पनि प्रहरीले लग्यो ।’

Post a Comment

 
Top