![]() |
आफ्ना भाई तथा नेपाली कांग्रेस बाँकेका तत्कालीन सभापति स्वर्गीय डा. अरुण कोइरालाको प्रथम वार्षिक पुण्य तिथीमा आइतवार नेपालगन्जमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले सो दावी गरेका हुन् ।
संविधानसभाको दोस्रो चुनाव र संविधान पनि चुनौतीका बीच जारी भएको बताउँदै उनले मधेसवादी दलहरुको समस्या पनि छिट्टै समाधान हुने विश्वास ब्यक्त गरे । ‘संविधान सहमतिको दस्तावेज हो,’ उनले भने, ‘जायज मागहरुलाई सम्वोधन गरेर संशोधन गरिनु पर्छ र त्यो हुन्छ पनि ।’
पूर्वप्रधानमन्त्री कोइरालाले आफू नेतृत्वको सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक अघि बढाउन नेकपा एमाले र एकीकृत नेकपा माओवादी सहमत भएकाले मधेसका मुख्य मागहरु अब सम्बोधन हुने जिकिर गरे । उनले मुलुकको समस्या मुलुकभित्रैबाट समाधान गरिनुपर्नेमा जोड पनि दिए ।
कोइरालाले भने, ‘समस्या छलफलबाट समाधान हुने कुरा हो, यही छलफल गरौं र समाधान निकालौं ।’ उनले राजनीतिक समस्यामा मुलुक लामो समयसम्म अल्मलिएकाले अब विकास र समृद्धिका लागि सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याए ।
मुलुक निर्माणका लागि अब सम्पूर्ण दलहरु जिम्मेवार हुनुपर्ने बताउँदै उनले राष्ट्रिय नीति बनाएर लाग्नुपर्ने धारणा राखे ।
सभापति कोइराला आफ्ना स्वर्गीय भाई डा. अरुणलेे संविधान जारी गर्नु भनी मृत्यु शैयाबाट चिठी लेखेको स्मरण गर्दै केहीबेर भावविह्वल बनेका थिए । सभापति कोइराला संविधान जारी भएपछि पहिलोपटक गृहनगर नेपालगञ्ज आएका हुन् ।
कांग्रेस बाँकेका तत्कालीन सभापति डा. कोइरालाको गत वर्ष मंसिर २ गते उपचारका क्रममा भारतको नयाँदिल्लीमा निधन भएको थियो ।
श्रद्धाञ्जली सभामा सांसद आशा बिक, अब्दुल हमिद सिद्धिकी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र शर्मा, बांँकेका पूर्व सभापति सनत रेग्मी, क्षेत्र नम्बर ३ का सभापति सुरेन्द्रनाथ सापकोटा, राज्य ब्यवस्था सभापतिका पूर्व सभापति कृष्णसिंह परियार लगायतले बोलेका थिए ।
![]() |
Post a Comment