इटहरी : सुनसरीको दक्षिणी भारतीय सीमा जोडिएको वसन्तपुर गाविस–४ निवासी लिलानन्द मेहताको घरमा आइतबार दिउँसो हतियारधारी समूहले आक्रमण गरी गोली चलाएर लुटपाट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार लुटपाटका क्रममा केही मानिससमेत घाइते भएका छन् ।

घटनाबारे तत्काल थाहा पाएपछि सशस्त्र प्रहरी बेस क्याम्प वसन्तपुरबाट प्रहरी सो स्थानमा पुग्दा ती हतियारधारी डाँका समूह गोली चलाउँदै फरार भएका थिए ।

सशस्त्र प्रहरी हवल्दार सूर्यबहादुर तामाङले राईफलबाट एक राउण्ड हवाई फायर गरेपछि डकैत समूह भारतीय सीमापारितिर भागेको बताइएको छ ।

प्रहरीले घटनास्थलबाट लिलानन्दन मेहताको दलानमा रहेको खाटमा सानो २.२ राइफलको गोली थान २, आँगन र घर पछाडिको बाटोमा १–१ थान ८ एमएम केएफ लेखिएको गोलीको खोकासमेत बरामद भएको पनि प्रहरीले जानकारी दिएको छ ।

सो समूह भारतीय हो वा अरुको भन्ने विषयमा अनुसन्धान भईरहेको र उनीहरुले लुटपाट गरेका सामानको पनि खोजी भइरहेको बताइएको छ ।

आक्रमणकर्ता चारजना पक्राउ
यसैबीच, गत मङ्सिर २५ गते बिहान इटहरी–१ स्थित खेतीखोला आसपासको क्षेत्रमा कृष्ण आयलमा इन्धन भर्न लाइनमा बसेका इटहरी–२ का तीनजनामाथि साङ्घातिक आक्रमण गर्ने चार जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गर्न सफल भएको बताएको छ ।

लागुऔषध सेवनकर्ता तथा ओसारपसारमा संलग्न रहँदै आएका इटहरी–५ निवासी युवामध्ये १९ वर्षीय सन्तबहादुर लिवाङ लिम्बूलाई मङ्सिर २६ गते पक्राउ गरेपछि प्रहरीले धनकुटाबाट विकल पौडेल र उदयपुरबाट ईश्वर राउत र रुपेश मिश्रलाई पक्राउ गरिसकेको आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ओम अधिकारीका अनुसार ईश्वर र रुपेशलाई आज पक्राउ गरिएको हो ।

प्रहरीले पक्राउ गरेकोमध्ये इटहरीबाट पक्राउ परेका लिम्बूको साथबाट ६० थान नाइट्रोसन र २६ थान स्पास्मो प्रोक्सिभन फेला पारेको पनि उनले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका छन् ।

आक्रमणमा परेका श्रीकुमार गिरीको अवस्था गम्भीर रहेको र उनको अहिले नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

आक्रमणमा घाइते भएका गोकुल बस्नेत र उमेश नेपाल भने उपचारपछि घर फर्किसकेको बताइएको छ । पक्राउ परेकालाई ज्यान अपराधसम्बन्धी ऐनअन्तर्गत र लागुऔषध ओसारपसारमा मुद्दा चलाइने भएको छ । रासस

Post a Comment

 
Top