काठमाडौं : कांग्रेस पदाधिकारीको मंगलबार बिहान बसेको बैठकले संविधान संशोधन विधेयक र भूकम्पपछिको पुननिर्माण विधेयक एकसाथ अघि बढाउनुपर्ने अडानलाई निरन्तरता दिएको छ ।

पार्टी सभापति सुशील कोइरालाको निवासमा बसेको बैठकले दुवै विधेयकलाई एकसाथ अघि बढाउनुपन निर्णय गरेको हो । पुनर्निर्माण विधेयक मात्रै ल्याएमा कांग्रेसले आज पनि संसद्मा अवरोध गर्ने संकेत मंगलबार बिहानको बैठकले दिएको छ।

दुवै विधेयक अघि बढाउने बारेमा आन्दोलनरत मधेसी मोर्चा र सरकार गठबन्धनसँग थप छलफल गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता दिलेन्द्र बडुले दिए। कांग्रेस सरकार छँदा दर्ता भएको संविधान संशोधन विधेयक सहमति नहुँदा संसद्‍मै थन्किएको छ।

भूकम्पपछिको पुनर्निर्माण विधेयक अघि बढाउनका लागि संसद्मा अवरोध नगर्ने संकेत मधेसी मोर्चाले दिए पनि संविधान संशोधन विधेयक भने ल्याउन नदिने अडान मोर्चाको छ । तर कांग्रेसले दुवै विधेयक पेस गर्ने सर्तमा मात्रै संसद् खुल्न सक्ने अडान लिएपछि संसद् अवरुद्ध हुँदै आएको छ ।

मधेसी मोर्चाले एक महिनादेखि निरन्तर संसद् अवरुद्ध गर्दै आएकोमा पछिल्ला दिनमा कांग्रेस पनि अवरोधमा सहभागी भएको हो । कांग्रेसले मधेस आन्दोलन, संविधान संशोधन, भूकम्पपछिको पुनर्निर्माण विधेयकलगायतका विषयमा छलफल गर्न बुधबार केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ ।

यो बैठकपछि मात्र कांग्रेसको भूमिका स्पष्ट हुने र त्यसपछि मात्र प्रमुख प्रतिपक्षसहित सरकार र मधेसी मोर्चासँग निर्णायक वार्ता हुनसक्ने बिहानको बैठकमा सहभागी कांग्रेसका एक नेताले बताए ।

बैठकमा पार्टी सभापति कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला लगायतको सहभागिता थियो । राजधानीमा उपलब्ध वरिष्ठ केन्द्रीय सदस्यहरुलाई बोलाइएको थियो ।



Post a Comment

 
Top