![]() |
‘मबाट गल्ती भयो, यो घटनालाई मैले ठूलो पाठका रुपमा लिएको छु,’ सोमबार एमाओवादी पार्टी कार्यालयमा स्पष्टीकरण दिँदै गृहमन्त्री बस्नेतले भने -‘म आत्मालोचना गर्छु र जनतासमक्ष माफी माग्छु, अबदेखि मबाट यस्तो गल्ती हुँदैन ।’
भूकम्प पीडितको कोटामा आफ्नी छोरी, प्रचण्डकी नातिनी र अन्य नातागोता एवं कार्यकर्तालाई चीन पठाएकोबारे पार्टीमा प्रश्न उठेपछि यस विषयमा सोमबार केन्द्रीय समिति बैठकमा छलफल भएको थियो ।
छलफलमा प्रवेश गर्दै प्रचण्डले बस्नेतलाई मन्त्रीबाट फिर्ता बोलाउने या माफी दिनेबारे निर्णय गर्न आग्रह गरेका थिए । अन्ततः बैठकले बस्नेतलाई एकपटकका लागि माफी दिने निर्णय गरेको थियो ।
तर, अब बस्नेतमात्रै नभएर कुनै पनि मन्त्रीले यस्ता गल्तीहरु गरेमा वा जनता र पार्टीको हित विपरीत कार्य गरेमा तुरुन्त फिर्ता बोलाउने प्रचण्डले बैठकमा चेतावनी दिएको एक केन्द्रीय सदस्यले अनलाइनखबरलाई बताए ।
कालीबहादुरले भने- मलद्वार सफा गरौं
सोमबारको बैठकमा बस्नेतको विषयमा बोल्दै केन्द्रीय सदस्य कालीबहादुर मल्लले उनलाई ‘मलद्वार’को संज्ञा दिए । बैठकमा मल्लले भने- ‘मलद्वार फोहोर भयो भन्दैमा मलद्वारै काटेर नफालौं, बरु मलद्वार सफा राखौं ।’
सोमबारको बैठकमा गृहमन्त्रीबारे भएको छलफलमा जनार्दन शर्मा, हरिबोल गजुरेल, गोपाल किराती, उर्मिला अर्याल, झक्कु सुवेदी, हेमराज भण्डारी, शालिकराम जमरकटेल, देवी खड्का, वालकृष्ण ढुंगेल, श्रीप्रसाद जबेगूलगायतले बोलेका थिए ।
भूकम्पपीडित दोलखाकी नेतृ देवी भड्काले गृहमन्त्रीको यस्तो कार्यबाट भूकम्पपीडित जिल्लाका बासिन्दालाई अब के भनेर जवाफ दिने प्रश्न गरेकी थिइन् ।
कृषिमन्त्री समेत रहेका हरिबोल गजुरेलले गृहमन्त्रीको कार्यको आलोचना गर्दै यसमा प्रचण्ड र हेडक्वाटरलाई समेत मुछिनु गम्भीर रहेको बताए । यसका लागि गृहमन्त्री बस्नेतलाई पार्टीले चेतावनी दिनुपर्ने गजुरेलले बैठकमा बताए ।
बैठकमा बोल्ने अधिकांशले उनको चर्को आलोचना गरेका थिए ।
प्रचण्डलाई पाँच दिन समय
यसैवीच एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन सच्याउनका लागि पाँच दिन समय माग गरेपछि एमाओवादी बैठक पुस ४ गतेसम्मका लागि स्थगित भएको छ ।
केन्द्रीय समितिको बैठकमा सदस्य हेमराज भण्डारीले पेश गरेको फरकम मतको प्रतिवेदन सबै केन्द्रीय सदस्यलाई वितरण गर्न प्रचण्डले निर्देशन दिएका छन् । अन्य सदस्यहरुले राखेका लिखित सुझावलाई पनि वितरण गर्न प्रचण्डले सोमबारे कार्यालयलाई निर्देशन दिएको स्रोतले बतायो ।
फरक मतको प्रतिवेदनमा केही नयाँ कुराहरु उठेको भन्दै प्रचण्डले सबैका सुझावलाई समेटेर दस्तावेजमा परिमार्जन गरिने बताएका छन् ।
![]() |
Post a Comment