१७ मंसिर, काठमाडौं । सर्लाहीको नवलपुरमा चुरे भावर र मधेसी मोर्चाका कार्यकर्ताबीच भिडन्तको खतरा प्रहरीले टारेको छ । दुवै पक्ष आमनेसामने हुन लागेको अवस्थामा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको थियो ।



मधेसी मोर्चाको आमसभा सुरु भइसकेको अवस्थामा चुरे भावरले घेरा हाल्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको हो । प्रत्यक्षदर्शीका अनुसार आमसभामा संघीय समाजवादी फोरमका राजेन्द्र श्रेष्ठले बोलिरहेका बेला चुरे भावरको समुह प्रहरी घेरा तोड्दै आमसभा स्थलमा प्रवेश गर्न खोजे ।
आमसभामा उपस्थित समुह पनि भावरविरुद्ध उत्तेजित भइसकेको थियो । दुवै तर्फका प्रदर्शनकारीले हातमा भाटा बोकेका थिए । ‘दुवै पक्ष भिडन्तको मनस्थितिमा थिए,’ स्थानीय पत्रकार टंक क्षेत्रीले भने, ‘प्रहरीले हस्तक्षप नगरेको भए जनधनको ठूलो क्षति हुन सक्थ्यो ।’
उद्घोषकले राजेन्द्र महतो आइपुग्न लागेको उद्घोष गरेपछि आमसभामा हुटिङ सुरु भयो भने भावरका प्रदर्शनकारी जाइलाग्न तयार भए ।
भिडन्त हुने देखेपछि प्रहरीले हवाई फायर र रवरका गोली चलाएका थिए ।
मोर्चाका कार्यकर्ताले पनि प्रहरीमाथि ढुंगामुढा गरे । झडपमा प्रहरी तर्फ ६ जना र आन्दोलनकारीतर्फ पनि ६ जना घाइते भएको जानकारी एसपि केदार पौडेलले अनलाइनखबरलाई दिएका छन् ।  ‘भिडबाट पनि प्रहरीतर्फ गोली चलाइएको जानकारी आएको छ, त्यसको पुष्टी हुन बाँकी छ,’ उनले भने ।
मधेसी मोर्चाका केन्दि्रय नेताहरु महन्त ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र यादव आमसभामा उपस्थित हुने भनिएको थियो । महन्त, उपेन्द्र र महेन्द्र आमसभामा आएनन् । महतो मोटरसाइकलमा आउँदै थिए, तर उनी आइनपुग्दै कार्यक्रम विथोलियो ।
मोर्चाका कार्यकर्ताहरु लखेटिएपछि चुरे भावरका कार्यकर्ताले नवलपुरमा प्रदर्शन गरे । उनीहरुले आमसभाका लागि बनाइएको सानो मञ्चलाई तोडफोड गरेका छन् ।
मोर्चाका कार्यकर्ताले मानवअधिकार आयोगको गाडीमा आगजनी गरेका छन् ।

Post a Comment

 
Top