काठमाडौँ, २७ मंसिर– ९८ वर्षीय खगुलाल गुरुङ नेपाल कम्युनिष्ट पार्टी, प्युठानको स्थापना हुादा २०१० साल मंसिरमा ७ जनामध्ये एक संस्थापक सदस्य हुन् । उनी २०१५ सालको आम निर्वाचनमा ८३ नं क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवार थिए ।

उपचारको सिलसिलामा काठमाडौंमा रहेकाबेला उनलाई अभिनन्दन गरिएको एमाले केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए । गुरुङलाई सम्मान गर्न नेकपा (मसाल) का महामन्त्री मोहनबिक्रम सिंहको संयोजकत्वमा हाल ३७ सदस्यीय मूल आयोजक समिति गठन गरेको थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले उपाध्यक्ष वामदेव गौतमलगायतका आधा दर्जन कम्युनिष्ट घटकका नेताले गुरुङलाई अभिनन्दन गरे ।

कुरा यस्तो छ

काठमाडौंमा आइतबार भएको कार्यक्रममा पुराना कम्युनिष्ट नेता मोहनविक्रम सिंहको भूमिकामा कतिपय उपस्थित कार्यकर्ताले टिप्पणी गरिरहेका थिए । प्युठानी पुराना कम्युनिष्ट नेता खगुलाल गुरुङको अभिनन्दन समारोहका संयोजक मोहनविक्रम सिंह नै उपस्थित कार्यकर्ता र शुभेच्छुकबीच देखिएनन् । पर्यटन बोर्डको एक कुनामा बसेका मोहनविक्रम कार्यक्रम सुरु हुँदा पनि मञ्चतिर देखिएनन् ।

कार्यक्रममा प्रमुख अथिति थिए एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली । विशेष अथिति एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँगै उपप्रधानमन्त्रीहरु सीपी मैनाली, चित्रबहादुर केसीलगायत । विभिन्न साना ठूला कम्युनिष्ट घटका दुई दर्जन शीर्ष नेता कार्यक्रममा थिए ।

खगुलालको जीवनचित्र मोहनविक्रमले तयार पारेका रहेनछन् । तर, पढेर सुनाएर जनमोर्चा अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री केसीले । त्यहाँ कार्यक्रम सञ्चालन गरिरहेका एमाले युवा नेता सूर्य थापाले भनिरहेका थिए, उहाँ प्राविधिकरुपमा देखिन मिलेन, तर यतै कतै हुनुहुन्छ ।

मोहनविक्रम भने कार्यकर्ताले घेरिएर दायाँपट्टिको पछाडिको कुनामा बसेका थिए । चित्रबहादुर केसीले खगुलालको जीवनचित्र सुनाएपछि बोल्ने पालो आयो प्रमुख अतिथि केपी शर्मा ओलीको ।

ओलीले खगुलालको संघर्ष, नेपालको कम्युनिष्ट आन्दोलनलाई संक्षिप्त ब्याख्या गर्दै कम्युनिष्टहरुको चरित्रको तीखो टिप्पणी गर्न भ्याए । उनको बोलीको तिर कार्यक्रमको सभापतित्व गरेका माओवादी नेता मोहन वैद्य र अर्धभूमिगत नेता मोहनविक्रम सिंहतिर पनि सोझियो । ‘कोही कम्युनिष्ट सरकारमै नजाने भनेर बसेका छन्,’ वैद्यलक्षित गर्दै उनले भने, ‘कम्युनिष्ट भनेकै सरकारमा गएर राम्रो सरकार चलाएर देखाउने हो, किन नजाने ?’

वैद्यलाई हानेको तिरले नै प्रधानमन्त्री ओलीले मोहनविक्रम सिंहतिर पनि तेर्स्याए । ‘मोहनविक्रमजी यतै कतै हुनुहुन्छ, मैले देखेको छु, तर उ त्यहाँ हुनुहुन्छ भनेर देखाउन मिल्दैन,’ अर्धभूमिगत नेता मोहनविक्रमलाई ओलीले भने, ‘बाहिरन निस्कनुस्, कसैले समाउँदा पनि समाउँदैन, केही गर्दैन, म देशको प्रधानमन्त्रीकोरुपमा भन्दैछु ।’

ओलीको भाषणमा सुरुदेखि नै हंसिलो अनुहार भएर चाखपूर्वक सुनेका मोहनविक्रमको अनुहार एकाएक कालो देखियो । तर ओलीले भन्दैथिए, ‘उहाँ डरले होइन, धर्मले बाहिर आउन नसक्नुभएको हो । उहाँको पार्टीको निर्णय छ बाहिर नदेखिने, मैले त्यहाँ देखें नि भन्ने मिल्दैन ।’

ओलीले फेरि थामथुम पारे, ‘यति राम्रो कार्यक्रम संयोजन गर्ने मान्छे, हामीलाई बाटो देखाउने मान्छे यहाँ हुनुहुन्न, केही हुँदैन, पत्रकारले अलि दुःख दिन्छन् है, बाँकी केही हुँदैन ।

Post a Comment

 
Top