![]() |
औषधि व्यवसायी संघका केन्द्रीय सदस्य रामेश्वर श्रेष्ठका अनुसार हाल मुलुकमा सुत्केरी गराउन चाहिने बेनोप्रोस्टोन, विष उपचारमा उपयोग गरिने एड्रिनल, मुटुको शल्यक्रियामा उपयोग गरिने प्रोटोमिन सुइ र मोतिबिन्दुको शल्यक्रियापछि उपयोग हुने लैटेनोप्रोस्ट थोपा औषधि छैनन् । यसैगरी, न्युरो सर्जरी र न्युरो डिजअर्डरमा उपयोग गरिने भैसोप्रिसिन सुइ, आईसीयू–सीसीयूमा उपयोग गरिने र बिरामीको शल्यक्रिया गर्न चाहिने औषधिहरूको समेत अभाव रहेको उनले बताए ।
नाकाबन्दीले गर्दा इन्धान अभावमा ढुवानी हुन नसक्दा भएका केही औषधिहरूसमेत सरकारी अस्पतालमा पुर्याउन नसकिएको व्यवसायीको भनाइ छ । स्वास्थ्य मन्त्रालय र सरकारी अस्पताललाई औषधि आपूर्ति गर्न सस्तो रेटमा टेन्डर हाले पनि नाकाबन्दीपछि ढुवानी खर्च बढेकाले पनि समस्या आएको ती व्यवसायीले बताए । सरकारका लागि ल्याइएका औषधिहरू सीधै बजारमा पठाउँदा समेत सरकारी निकायमा औषधि अभाव भएको श्रेष्ठ बताउँछन् । औषधि आयातकर्ताले इन्धनको अभावमा समेत औषधि पुर्याउन नसकिएको गुनासो गर्दै आएका छन् ।
हाल हवाई र स्थलमार्ग केही मात्रामा औषधि आपूर्ति जारी छ । तर वीरगन्ज नाकाबाट औषधि नआएसम्म पहिलेजस्तै स्थिति सामान्य हुन नसक्ने औषधि व्यवसायीहरू बताउँछन् ।
शुक्रबारयता तीन दिनमा विराटनगर र सुगौली नाकाबाट दैनिक १९ ट्रक औषधि भित्रिएको छ भने हवाई मार्गबाट करिब ४० करोडभन्दा बढीको औषधि आइसकेको छ । एक महिना अघि औषधिको असाध्यै अभाव रहे पनि हाल त्यस्तो स्थिति नरहेको उल्लेख गर्दै श्रेष्ठले अहिले चलनचल्तीमा रहेका औषधि जेनरिक मात्र नभएर,
ब्रान्ड नेममा समेत पाउन थालिएको दाबी गर्छन् । व्यवसायीहरू चिकित्सकद्वारा एक महिनाका लागि सिफारिस गरिएको औषधि लामो समयसम्मको लागि किनेर स्टक नगर्न आग्रह गर्छन् । कुनै काउन्टरले एकैचोटि धेरै औषधि मगाउँदा नदिनसमेत व्यवसायीसँग आग्रह गर्छन् । ‘अन्य उत्पादन आइरहेको छ, उपचारमै असर पर्ने गरी अभाव छैन,’ श्रेष्ठका अनुसार विराटनगर नाकाबाट औषधि आउन थालेपछि स्थिति केही सहज भएको हो ।
औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठका अनुसार हाल औषधिको कमीसँग सम्बन्धित पहिलेजस्तो असहज स्थिति नरहे पनि वीरगन्ज नाका नखुलेसम्म पूर्ववत् स्थितिमा फर्कन सकिँदैन । औषधि व्यवसायी संघका अनुसार मुलुकमा वर्षेनी २२ अर्बको औषधि र ८ अर्बको शल्यक्रियाको समान भित्रिने गरेको छ ।
![]() |
Post a Comment