![]() |
काठमाडौं । राज्यले न्यायको काम सुम्पिएका काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका न्यायकर्मी युवतीसँग जबर्जस्ती यौनसम्पर्क राखेको र अन्य लाभ लिएको आरोपमा फसे भने अनौठो नमाने हुन्छ । अध्यागमन विभागमा कार्यरत मुद्दा शाखाका अधिकृत यसअघि अवैध कागजात प्रयोग गरी विदेश आउजाउ गरेको आरोपमा हिरासतमा रहेकी सुन्दरीसँग जबर्जस्ती यौनसम्बन्ध कायम गरेको पाइएपछि जागिर गुमाउनेमा परेका थिए । नक्कली कागजातका आधारमा विदेशबाट फर्किएका युवती अचेल अध्यागमनका कर्मचारीको जबर्जस्तीमा पर्न छाडे पनि सरकारी वकिलको नजरबाट भने बच्न नसक्ने अवस्थामा पुगेका हुन् ।
अहिले काठमाडौं जिल्ला सरकारी कार्यालयका प्रमुख लोकराज पन्थी छन् । उनले वैदेशिक रोजगार व्यवसायी, वैदेशिक रोजगार विभाग र अध्यागमनका कर्मचारीको मिलेमतोमा नक्कली कागजात बनाएर उडाएका कामदारलाई दोहोरो मुद्दा लगाएर हैरान बनाएका छन् । विदेश जाँदा पैसा खुवाएर सबैको मिलेमतोमा उडे पनि फर्कंदा तिनै कार्यालयका कर्मचारी र सुरक्षाकर्मीले कागजात नक्कली भएको भनी उनीहरूलाई छाड्दैनन् ।
अवैध कागजातसहित पक्राउ परेका सबैलाई अध्यागमन विभागको कालिकास्थानस्थित हिरासतमा राखी जिल्ला सरकारी वकिल कार्यालयमा मुद्दा दायर गरिन्छ । यसपछि दोषीलाई जिल्ला सरकारी वकिलको कार्यालयले नै अध्यागमनको मागबमोजिम कैद र जरिवानाको माग गरी जिल्ला अदालतमा मुद्दा अघि बढाउँछ । फैसला हुँदा यी सबैलाई कैद र जरिवाना तोकिन्छ । तर, जब सरकारी वकिल कार्यालयले उसले चलाएको मुद्दा जित्छ र दोषीलाई सजायको फैसला पनि हुन्छ, लगत्तै फेरि किर्तेको अर्को मुद्दा खडा गरी पीडितलाई फेरि प्रहरी हिरासतमा पठाउँछ ।
एउटै दोषमा लोकराज पन्थीको रुचिमा दोहोरो मुद्दा चलाउने प्रक्रिया अघि बढ्दा उनीहरूलाई प्रहरीले थुन्ने र फेरि सरकारी वकिलले बयान लिने कार्य सुरु हुन्छ । हालसम्म लोकराजले यसरी दोहोरो मुद्दा चलाएका सबैले जिल्ला अदालतबाट सफाइ पाएका छन् । तैपनि, यो क्रम भने रोकिएको छैन । किन ? यस सम्बन्धमा जनआस्थासँग पीडित युवती भन्छिन् निकै व्यक्तिगत कुरा सोधेर हैरान पार्छन् । पैसा माग्छन् र मोबाइल नम्बर पनि लगेर फोनमा अन्तरंग सम्बन्धको प्रस्ताव घुमाउरो भाषामा राख्छन् ।
यसरी लोकराजको योजनामा सरकारी वकिलले तामाङ, सुनुवार, दलित सुन्दरी युवतीलाई मुद्दा चलाउने बहानामा आर्थिकदेखि यौन शोषणसम्म गर्ने गरेको अर्की युवतीले बताइन् ।
दोहोरो मुद्दा खेपेकी एक जनजाति युवती भन्छिन्– उनीहरूले सोध्ने प्रश्न नै हतास र निराश बनउने निकै व्यक्तिगत हुन्छन् । विदेशमा कति बस्यौबाट सुरु गरेर के के गर्यो, कसरी गर्यो, कति पैसा दिए ? वा गरेको छ कि छैन ? ग¥यौ होला नि ? बयानका नाममा यस्ता कुरा सोधेपछि के जवाफ दिने र कसरी दिने ? उनको दुखेसो छ । आफैँले तिरेको करबाट तलब–भत्ता खाएर कालोकोट लगाएर आउने वकिलबाट यस्ता हैरानी व्यहोर्ने युवतीको संख्या दर्जनौँ छ । तर न उनीहरू यसबारे कतै उजुरी गर्न सक्छन् न त कतै खुलेर बताउन नै !
किन दोहोरो मुद्दा ?
जिल्ला सरकारी वकिल कार्यालयबाट सरुवा भएर अन्त गएका एक वकिल भन्छन् संविधानको धारा २० को उपधारा ६ को न्यायसम्बन्धी हकविपरीत यसरी चलाइने मुद्दाको मुख्य उद्देश्य पैसा असुल गर्ने र सकेसम्म चाहेको अन्य लाभ हासिल गर्ने नै हो । अध्यागमनको मागबमोजिम कैद र सजाय भोगिसकेका युवती फेरि हनुमानढोकाको हिरासतमा रही सरकारी वकिलका हतास बनाउने बयान सामना गर्नुको सट्टा केही दाम चढाएर उम्कन खोज्छन् । आफ्ना सबैखाले चाहना पूरा गरेपछि सरकारी वकिल र लोकराजले जिल्ला अदालतमा दोहोरो मुद्दा दायर गर्न प्रक्रिया अघि बढाइदिन्छन् । तर, हालसम्म उनले चलाएका सबै यस्ता मुद्दा जिल्लाले खारेज गरिदिएको छ ।
![]() |
Post a Comment