![]() |
रुपन्देही उद्योग संघ, बुटवल उद्योग वाणिज्य संघ र रुपन्देही व्यापार संघले हरेक वर्ष पालैपालो पुष महिनामा संचालन गर्दै आएको व्यापार मेला यस वर्ष रुपन्देही व्यापार संघले आयोजना गर्दैछ।
नाकाबन्दीका कारण ईन्धनदेखि दैनिक उपभोग्य वस्तु समेत अभाव भईरहेको बेला अन्तर्राष्ट्रिय व्यापार मेला सम्पन्न गर्नु आयोजकका सामु चुनौतीको ठूलै पहाड खडा भएको छ। देशभित्रका मात्र नभई विदेशका व्यापारीक प्रतिष्ठानहरुको समेत सहभागितामा आगामी पौष ८ देखि २१ गतेसम्म बुटवल मण्डपमा संचालन हुने उक्त मेला सफलतापूर्वक सम्पन्न गर्ने आयोजकले विश्वास लिएका छन् ।
आयोजक संस्था रुपन्देही व्यापार संघले मेला स्थल बुटवल मण्डपमा पत्रकार सम्मेलन गरी व्यापार मेलाको सम्पूर्ण तयारीका कामहरु अघि बढिसकेकोले जसरी पनि मेला सम्पन्न गर्ने जनाएको छ। संघका अध्यक्ष एवं मेला आयोजक मुल समितीका संयोजक श्रीकृष्ण पोखरेलले रुपन्देहीमा हुने भनिएका अरु दुई स्थानका व्यापार मेला नाकाबन्दीका कारण भन्दै यसअघि नै स्थगित गरिएपनि आफुहरुले भने मेला स्थगित नगर्ने बताए।
‘सबै क्षेत्रमा हुने मेलाहरु स्थगित गरिदाँ नाकाबन्दीले नेपालमा ठूलै प्रभाव पारेको गलत प्रचार हुने र नाकाबन्दीका बाबजुद पनि नेपाल व्यापार व्यवसायमा सक्षम छ भन्ने पुष्टि गर्न पनि मेला रोकिदैँन,’ उनले भने ।
यसअघि सिद्धार्थ नगर उद्योग वाणिज्य संघले भैरहवा र तिलोत्तमा उद्योग वाणिज्य संघले तिलोत्तमा नगरपालिकामा गर्ने भनिएका व्यापार मेला भने स्थगित भईसकेका छन्। मंसिर ७ देखि मेलाको तयारीको लागि आयोजकले मेला स्थल बुटवल मण्डपमा अस्थाई सचिवालयको स्थापना गरी मेलाको सम्पूर्ण कार्य सोहि क्षेत्रबाट संचालन गर्दै आएको छ।
करिव २० वटा अन्तर्राष्ट्रिय स्तरका स्टल सहित मेलामा ६ सय स्टल रहने मेला संयोजक पोखरेलले जानकारी दिए । पोखरेलले उद्योगी, व्यापारी, व्यवसायीक संघ संस्था, कृषकलाई स्टल बुकिङ खुल्ला भएकाले बुकिङ गर्न आग्रह गरे। रुपन्देही जिल्लालाई केन्द्रित गरी गरिने मेलाले यस क्षेत्रको आर्थिक गतिविधी चलायमान गर्न सहयोग पुग्ने आयोजकको दावी छ।
मेलामा अन्तर्राष्ट्रिय स्टल, अटो पेभिलियन, कृषि प्रविधि, सेवामुलक, सूचना प्रविधि र ईलेक्ट्रोनिक्स, बैकल्पिक उर्जा, जुत्ता चप्पल, दैनिक उपभोग्य सामान, गार्मेन्ट्स, निर्माण सामाग्री, घरेलु तथा हस्तकला, होटल तथा रेष्टुरेन्टका स्टलहरु समेत राखिने आयोजकले जनाएको छ ।
![]() |

Post a Comment