१० पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सानो, छरितो मन्त्रिपरिषद् बनाउन चाहेपनि नसकेको बताएका छन् ।
साना दलबाट चार मन्त्री र एमालेबाट छ राज्यमन्त्री थपेर मन्त्रिपरिषद्लाई ४० सदस्यीय बनाएको भोलिपल्ट प्रधानमन्त्रीले भने-‘म चाहन्थेँ अलि सानो, छरितो मन्त्रिपरिषद् बनाएर ड्याङ कि ड्याङ काम गरौं । धेरै कुरा त्यसका प्रतिकूल रहे ।’
उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सानो मन्त्रिपरिषद् बनाएर फटाफट काम गरौं भनेर सोचेको भएपनि परिस्थिति त्यसको प्रतिकूल देखिएको बताए । उनले भने-यसका निम्ति शायद समय लाग्छ कि जस्तो छ । प्रारम्भमै सबै कुरा ठीक गर्छु भन्दा ठीक नहुने रहेछ । ठीक बाटो समातेर अघि बढ्दै जानुपर्ने आवश्यकता देखेको छु ।’
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले प्रदेशको सीमामा खुला रहेको भन्दै आन्दोलनको नाममा र अरूको अधिकार हनन गर्न नहुने बताए । उनले भने-अध्ययन टोलीले वस्तुगत र तथ्यगत अध्ययन गरेर ल्याएपछि पूर्वाग्रह र जिद्दी गर्नुपर्ने कुनै कारण छैन ।’
संविधानलाई अवमूल्यन गर्ने, संवैधानिक हैसियत घटाउने प्रयास स्वरुप आइरहेको विचारको कुनै अर्थ नरहने उनले बताए । ‘संविधानसभाबाट विधि प्रक्रिया पूरा गरेर धेरै सुदृढ र संवैधानिक हैसियतका साथ संविधान आएको छ’ प्रधानमन्त्री ओलीले भने-यो संविधानलाई हिजोको जस्तो थिच्न, मिच्न कसैले पनि सक्दैन । यो ठूलो उपलब्धि हो ।’
आपूर्ति सहज बनाउन, भूकम्पपीडित जनतालाई सकेसम्म छिटो राहत दिन र कानुन विहीनताको अबस्था रहन नदिन सहमतिका साथ जानुको अर्काे विकल्प नभएको उनले बताए ।
प्रधानमन्त्री ओलीले केही दिनभित्रै प्रभावकारी कदम चालेर तस्करी र कालोबजारीलाई नियन्त्रण गर्ने बताए ।


Post a Comment

 
Top