Via:Annapurna post

राष्ट्रिय भेलाबाट सत्र प्रस्ताव पारित
भरतपुर (चितवन) : तराईको वास्तविक समस्या बुझ्न र तराई आन्दोलनको निकास खोज्न नेकपा एमाले केन्द्रीय सचिवालयले चितवनको सौराहामा सोमबारदेखि आयोजना गरेको दुईदिने विशेष राष्ट्रिय भेला सत्रवटा प्रस्ताव पारित गर्दै मंगलबार राति सकिएको छ । पारित प्रस्तावको सात नम्बर बुँदामा नाकाबन्दी तत्काल अन्त्य गर्न भारतको गम्भीर ध्यानाकर्षण गराइएको छ ।

‘यो भेला साढे दुई महिनादेखि जारी भारतद्वारा गरिएको अघोषित नाकाबन्दीका कारण उत्पन्न हुन थालेको गम्भीर मानवीय संकटप्रति गहिरो चिन्ता प्रकट गर्दछ’ भेलाद्वारा पारित प्रस्ताव नम्बर सातमा भनिएको छ, ‘यस्तो नाकाबन्दी संयुक्त राष्ट्र संघको बडापत्र, सार्क चार्टर र दुई देशबीचका सन्धि सम्झौताहरुको समेत प्रतिकूल भएको र यस्तो असहज अवस्थाले दुई देशबीचको युगौँ पुरानो मित्रता र जनताजनताबीचको सम्बन्धमा समेत नकारात्मक प्रभाव पार्ने कुरालाई ध्यानमा राख्दै तत्काल नाकाबन्दी अन्त्य गरेर आपूर्ति व्यवस्थालाई सहज बनाउन र दुई देशबीचको सम्बन्धलाई पूर्ववत सहज अवस्थामा फर्काउन भारतको गम्भीर ध्यानाकर्षण गर्दछ ।’

पारित प्रस्तावमध्ये पहिलोमा संविधानको स्वागत, दोस्रोमा प्रधानमन्त्रीमा निर्वाचित भएकोमा अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपतिमा निर्वाचित भएकोमा तत्कालिन उपाध्यक्ष विद्यादेवी भण्डारीलाई बधाई एवं शुभकामना व्यक्त गरिएको छ ।

पारित तेस्रो प्रस्तावमा तराईमा जारी बन्द, हडताल र आन्दोलनप्रति गम्भीर गहिरो चिन्ता व्यक्त गर्दै पीडित नेपाली नागरिकलाई ठोस राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गरिएको छ ।

‘विगत चार महिनादेखि तराई–मधेशमा जारी बन्द, हडताल, अशान्ति र आन्दोलनका क्रममा प्रकट भएका अराजक एवं हिंस्रक गतिविधिहरुले जनजीवन अत्यन्त कष्टकर बन्दै गएको कुराप्रति यो भेला गहिरो चिन्ता व्यक्त गर्दछ’, पारित प्रस्तावमा भनिएको छ, ।

प्रस्ताव नम्बर चारमा आन्दोलनका सबै कार्यक्रम स्थगित गरी वार्ता र संवादका माध्यमबाट समस्या समाधान गर्ने दिशमामा जिम्मेवार भूमिका खेल्न आन्दोलनरत मधेशी मोर्चालाई आह्वान गरिएको छ ।

प्रस्ताव पाँचमा नागरिकहरुको जीउधनको रक्षा, निर्वाध आवागमनको स्वतन्त्रता र आपूर्ति व्यवस्थालाई सहज तुल्याउन सरकारसँग प्रभावकारी कदमका लागि आह्वान गरिएको छ ।

प्रदेश सीमांकनका सम्बन्धमा रहेको प्रस्ताव नम्बर छमा भनिएको छ, ‘सीमाहरु पुनरावलोकन गर्दा जातीय सद्भाव अभिवृद्धि हुने, राष्ट्रिय अखण्डता अझ सुदृढ हुने तथा विकास निर्माण र आर्थिक समृद्धिको राष्ट्रिय लक्ष्यलाई सहयोग पुग्ने कुरा सुनिश्चित गर्नुपर्ने र यस क्रममा जनताको चाहनालाई केन्द्रबिन्दुमा राख्नुपर्ने कुरामा यो भेला विशेष जोड दिन चाहन्छ ।’

भेलाबाट पारित आठ नम्बर प्रस्तावमा नेपाल र नेपाली जनताले भोग्नु परेको समस्या र पीडाप्रति ऐक्यवद्धता प्रकट गर्ने संयुक्त राष्ट्र संघ, युरोपेली युनियन र विभिन्न देश तथा त्यहाँका राजनीतिक दल, सांसदलाई धन्यवाद ज्ञापन गरिएको छ ।

प्रस्ताव नौमा तराईका दलित, अल्पसंख्यक, मुस्लिम, अत्यन्त विपन्न तथा पिछडिएका वर्गका लागि विशेष राहत प्याकेज अगाडि बढाउन सरकारसँग माग गरिएको छ ।

‘यो भेला तराईवासी–मधेशी समुदायले नेपालको लोकतान्त्रिक आन्दोलन, कम्युनिष्ट आन्दोलन र राष्ट्रियताको रक्षामा गर्दै आएको महत्वपूर्ण भूमिकाको उच्च सम्मान गर्दछ’ प्रस्ताव दसमा भनिएको छ, ‘उनीहरुको भाषा, सँस्कृति र आत्मसम्मानलाई कदर गर्दै सामन्ती सँस्कृतिको अवशेषका रुपमा रहेका सबैखाले विभेदकारी व्यवहारलाई अन्त्य गर्न अग्रपंक्तिमा उभिएर पहल गर्ने संकल्प गर्दछ ।’

प्रस्ताव ११ मा तराई विकासको महत्वपूर्ण आधारका रुपमा रहेका काठमाडौँ–तराई द्रुतमार्गलगायतका राष्ट्रिय गौरव र प्राथमिकताका आयोजनाहरुमा पर्याप्त बजेट विनियोजन गर्न सरकारसँग माग गरिएको छ ।

प्रस्ताव १२ मा अत्यावश्यक वस्तुहरुको आपूर्तिका लागि वैकल्पिक नाका एवं मार्गहरु बिस्तार गर्न तथा आत्मनिर्भरता र अन्तरनिर्भरताको दिशामा ठोस कदम चाल्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

प्रस्ताव १३ मा संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण तथा राष्ट्रिय हितको रक्षा र राष्ट्रिय एकताको लागि सबै वामपन्थी, लोकतान्त्रिक तथा देशभक्त शक्तिहरुलाई एकतावद्ध भएर अघि बढ्न आह्वान गरिएको छ ।

प्रस्ताव १४ मा आगामी दिनका सबैखाले चुनौतीहरुको सामना गर्न पार्टी पंक्तिलाई आह्वान गरिएको छ । प्रस्ताव १५ मा पार्टीको तीन महिने विशेष अभियानलाई प्रभावकारी ढंगले अगाडि बढाउने संकल्प लिइएको छ ।

भेलाबाट पारित प्रस्ताव नम्बर १६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पार्टीका केही नेतालाई बयानका लागि पत्राचार गरेको विषयप्रति भेलाले गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

‘सिंगो मुलुक राष्ट्रिय स्वाभिमानको पक्षमा दृढतापूर्वक उभिएको र पार्टीले यस अभियानको अगुवाई गरिरहेको विशेष परिस्थितिमा अगाडि बढाइएको यो विषयले गम्भीर आशंका पैदा गरेको छ’ पारित उक्त प्रस्तावमा भनिएको छ, ‘राज्यका कुनैपनि निकायद्वारा कानूनसम्मत ढंगले गरिने अनुसन्धानलाई सघाउन पार्टी सदैव तयार रहेको, तर पूर्वाग्रही ढंगले र प्रतिशोध साँध्ने हिसाबले गरिने कुनैपनि गतिविधि भने अनुचित हुने कुराप्रति यो भेला सम्वद्ध सबैको ध्यानाकर्षण गराउन चाहन्छ ।’

अन्तिम प्रस्ताव १७ नम्बरमा विशेष राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न गर्न व्यवस्थापन गर्ने जिल्ला कमिटी र सहयोग गर्ने सबै पक्षलाई धन्यवाद ज्ञापन गरिएको छ ।

एमाले केन्द्रीय सचिवालयले जिल्ला कमिटीको संयोजनमा सौराहामा आयोजना गरेको विशेष राष्ट्रिय भेलामा तराईका २२ जिल्लाबाट साँसद, केन्द्रीय सदस्य, जिल्ला पदाधिकारी, नेता तथा कार्यकर्ता गरी दुई सय ७० जना सहभागी भएको केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

सहभागीलाई नौ समूहमा विभाजन गरी प्रस्तावहरु पारित गराइएको उनले बताए । पारित प्रस्तावबारे जानकारी दिन प्रचार विभागले बुधबार जिल्ला पार्टी कार्यालय भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।

Post a Comment

 
Top