१८ मंसिर, काठमाडौं । सरकारले कम्तिमा तीन महिनालाई पुग्ने गरी पेट्रोलियम पदार्थ भण्डारण गर्ने विषयमा छलफल सुरु गरेको छ । अर्थ मन्त्रालयले कम्तिमा पेट्रोलियम पदार्थ भण्डारण बढाउनुपर्ने भन्दै बिहीबार सरोकारवालाको बैठकमा प्रस्ताव गरेको छ ।
Nepal-oil-Dipoभारतीय नाकाबन्दीले नेपाल आयल निगमको तेल भण्डारण क्षमता निकै कमजोर रहेको खुलस्त भएपछि अर्थ मन्त्रालयले श्वेतपत्र मार्फत पनि सबै भौगोलिक क्षेत्रमा तेल भण्डार स्थापना गर्ने घोषणा गरेको थियो ।
कम्तिमा ३ महिनाको माग धान्ने गरी अग्रिम रुपमा नै पेट्रोलियम भण्डारण गर्न नयाँ डिपोहरु खडा गर्नुपर्ने अर्थ मन्त्रालयलको प्रस्ताव छ ।
अर्थ मन्त्रालयको प्रस्ताव सरोकारवालाहरुले काठमाडौंसहित पहाडी क्षेत्रको अभावलाई ध्यानमा राखेर काभ्रेको पाँचखाल र नुवाकोटको बेत्रावतीमा पेट्रोलियम भण्डार स्थापना गर्न सुझाव दिएको बैठकमा सहभागी एक सरकारी अधिकारीले बताए ।
‘चीनसँग तेल खरिद सुरु भएमा पनि दुई स्थानमा राखिने डिपो उपयोगी हुनेमा सबै निकायका प्रतिनिनिको जोड रह्यो,’ ति अधिकारीले भने-‘तेलको धेरै माग भएको काठमाडौंका लागि पनि ती स्थानका डिपो सहयोगी हुने निश्कर्ष बैकठले निकालेको छ ।’
आयल निगमले पनि तेल भण्डारण वृद्धिका लागि विभिन्न योजना बनाएको छ ।
आयल निगमले थानकोट र भैरहवा डिपोको भण्डारण क्षमता बढाउने, झापाको चार आलीमा नयाँ भण्डार स्थापना गर्ने र भद्रपुरमा नयाँ हवाइ इन्धनको डिपो बनाउने लगायतका योजना बनाएको छ ।
यी सबै आयोजनालाई तुरुन्त अघि बढाउने आयल निगमको योजना रहेको प्रवक्ता मुकुन्द घिमिरेले बताए ।
नेपाली पेट्रोलियम बजारमा ४५ वर्षदेखि एकछत्र राज गर्दै आएको नेपाल आयल निगमले एक थोपा पनि भण्डारण क्षमता नबढाएको १० वर्ष भएको छ ।
निगमले सन् २००५ यता कुनै डिपोको भण्डारण क्षमता बढाएको छैन । निगमले त्यतिबेला एशियाली विकास बैंकको सहयोगमा भण्डारण बढाएको थियो ।सहयोग पाउन छोडेपछि क्षमता बढाउने सबै काम रोकिएको छ ।


Post a Comment

 
Top