काठमाडौं-  नेपालमा पहिलो पटक प्रयोगशाला प्रमाणित मस्तिष्क ज्वरो (इन्सेफलाइटिस) उत्पन्न गर्ने चान्दिपुरा भाइरस देखिएको छ । यो भाइरस पूर्वी नेपालका ८ जनामा देखिएको हो । भाइरस देखिएकाहरुमध्ये दुई जनामा जापानी इन्सेफलाइटिससँगै चान्दिपुरा र बाँकी ६ जनामा चान्दिपुराको मात्र संक्रमण पाइएको हो ।
विशेषज्ञहरुका अनुसार भारतका बालबालिकालाई हुने प्राणघातक मस्तिष्क ज्वरो का लागि चान्दिपुरा भाइरस जिम्मेवार छ । ‘प्रयोगशाला प्रमाणित चान्दिपुरा भाइरस मुलुकमा पहिलो पटक देखिएको हो,’ नेपाल जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. गीता शाक्यले भनिन्, ‘यसको भारतमा धेरै पटक प्रकोप रेकर्ड गरिए पनि नेपालमा देखिएको थिएन ।’
इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले चान्दिपुरा भाइरसले पूर्वी नेपालमा केहीको मृत्युसमेत भएको स्वीकारे पनि विस्तृत जानकारी आइनसकेको बताए। हालसम्म नेपालका बालबालिकामा देखिने मस्तिष्क ज्वरोलाई जापानी इन्सेफलाइटिससँग आबद्घ मानिने गरेको जनाउँदै स्वास्थ्य मन्त्रालयका एक विशेषज्ञले भने, ‘अत्यन्तै उच्च मृत्युदर रहेको मस्तिष्क ज्वरोको थुप्रै केसहरूमा रोग पहिचान हुन सकेको थिएन। अब हामी त्यसको कारणका रूपमा चान्दिपुरा भाइरसलाई समेत आशंका गर्नेछौं।’ मस्तिष्क ज्वरोको यस्ता प्रकोपहरूको कारण चान्दिपुरा भाइरस नै हुन सक्ने केही आधारसमेत फेला परेको उनले बताए।

चान्दिपुरा भाइरस सन् १९६६ मा महाराष्ट्रको चान्दिपुरामा भाइरस रिसर्च सेन्टर, पुनेका वैज्ञानिकहरूले पत्ता लगाएका थिए। यो भाइरसले भारत र श्रीलंकामा भुसुना, लामखुट्टे र मानिससहित स्तनधारीलाई संक्रमित गर्छ।आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेको खबर छ ।

Post a Comment

 
Top