बन्दका कारण विराटनगरको व्यापार व्यवसायसमेत चौपट भएको थियो । पुस लागेपछि मधेसी मोर्चाका कार्यकर्ताहरुले यो क्षेत्रमा कुनै अवरोघ सिर्जना गरेका छैनन् । मोर्चाको अवरोध हटेसँगै अहिले नगर क्षेत्रका पसल खुलेका छन् भने यातायात साधन पनि निर्वाध रुपमा संचालनमा आएका छन् ।
विराटनगर व्यापार संघका अध्यक्ष रामजीवन अग्रवालले लामो समयदेखि बन्द भएको विराटनगरको जनजीवन सामान्य बन्दै गएको बताए ।
‘पछिल्लो समयमा बजार खुलेपछि खस्किएको व्यापार व्यवसाय फस्टाउन थालेको छ । अहिलेको अवस्थालाई सकारात्मक मान्न सकिन्छ,’ उनले भने ।
अग्रवालका अनुसार पुस लागेपछि मधेसी मोर्चाका कार्यकर्ताहरुले व्यापार व्यवसाय सञ्चालनमा कुनै अवरोध नपुर्याएको बताए ।
अवस्था सामान्य बन्दै गएपछि सार्वजनिक यातायातका सवारी साधन पनि संञ्चालनमा आएका छन् । विराटनगरदेखि इटहरी क्षेत्रका राजमार्गमा अवरोध हटेसँगै बस सेवा सुरु भएका छन् ।
चार महिनापछि विराटनगरबाट बस सेवा सामान्य तर्फ उन्मुख भएको नेपाल रात्री तथा दिवा यातायात संघ विराटनगरका सचिव राजु धमलाले बताए ।
विराटनगरबाट अहिले झण्डै दैनिक ३ सय छोटो दुरीमा चल्ने बस छुट्न थालेका छन् । दिनमा ३० वटा लामो दुरीका बस पनि विराटनगरबाट छुट्ने गरेका छन् ।
मोर्चाको आन्दोलन विराटनगरको रानी नाका केन्द्रित भएपनि प्रभाव न्युन छ । दिनहुँ नाका क्षेत्रमा धर्ना दिँदै आएपनि मोर्चाका कार्यकर्ताहरुको उत्साहजनक सहभागिता नहुँदा प्रभाव न्युन भएको हो ।
मोर्चाका कार्यकर्ताहरुले अपरान्ह १ देखि ५ बजेसम्म दैनिक नाका क्षेत्रमा धर्ना दिने भनेपनि कोण सभा आयोजना गर्ने गरेका छन् । यसबाट सवारी आवत-जावतमा आवत-जावतमा समस्या नरहेको मोरङका प्रहरी नायव उपरिक्षक प्रमोद खरेलले बताए ।
मोर्चाका कार्यकर्ता हटेपछि भारतबाट आएका सवारी साधनलाई प्रहरीले स्कर्टिङ गरी गन्तव्य तर्फ लाने गरेको छ ।
संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष राजकुमार यादवले भने सीमानाका केन्दि्रत आन्दोलन जारी रहेको बताए ।
राजश्व संकलन उत्साहजनक
पछिल्ला दनमा रानी भन्सार कार्यालयको राजस्व संकलन पनि उत्साहजनक देखिएको छ । ‘सवारी आवगमनमा कुनै अवरोध छैन, हामी लक्ष्य हासिल गर्ने अवस्थामा अहिले पनि छौं,’ भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले भने ।
रानी भन्सारले वार्षिक लक्ष्यको ४० प्रतिशत राजस्व पाँच महिनामा नै असुुली गरेको छ । कुल २० अर्ब ६८ करोड लक्ष्य रहेकोमा ८ अर्व ४० करोड रुपैयाँ संकलन भएको बस्नेतले जानकारी दिए । ‘अझै सात महिना बाँकी छ । माघ महिनाबाट राजस्व संकलन बढ्छ,’ उनले थपे ।
भदौ र असोज महिनामा राजस्व संकलनमा गिरावट आएपनि कार्त्तिक र मंसिर महिनामा लक्ष्य भन्दा वढी राजस्व संकलन भएको छ । अहिले भारतवाट सवारी साधान नेपाल भित्रिने क्रम पहिलेकै जस्तो भएको बस्नेतले बताए ।
अन्य नाकामा रोकिएका सवारी पनि रानी नाकाबाट रि-रुट भएर आएकाले कर्मचारीलाई काम गर्न भ्याई नभ्याई भएको छ । दैनिक औसत २ सय भन्दा बढी सवारी साधन रानी नाकाबाट आउने गरेकामा यसमा २० प्रतिशत रि-रुट भएका सावारी पनि छन् । यसैका कारण यार्डको क्षमताले नभ्याउँदा समस्या हुने गरेको भन्सार प्रमुख बस्नेतले बताए ।
Post a Comment