![]() |
छतबाट खस्दा उहाँको टाउकामा गम्भीर चोट लागेको छ भने शरीरको बायाँ भाग नचल्ने भएको छ । हाल उहाँको वीर अस्पतालमा उपचार भइरहेको छ । उहाँका दाजु भरतप्रसाद भन्नुहुन्छ “गाडी कम मात्रामा चल्दा छतमा बसेर यात्रा गर्नु हाम्रो बाध्यता भएको छ ।” उहाँले छतमा बसेर यात्रा गर्न जोखिमपूर्ण हुने थाहा हुँदाहुँदै पनि यात्रुको गन्तव्यमा पुग्नैपर्ने बाध्यताका कारण यात्रा गर्दा दुर्घटनाको भागीदार हुनुपरेको स्विकार्नुहुन्छ ।
चार महिना लामो तराई आन्दोलन र तीन महिनादेखिको भारतीय नाकाबन्दीका कारण सवारी साधन कम मात्रामा चल्दा यात्रु गाडीको छतमा बसेर यात्रा गर्न बाध्य छन् । छतमा बसेर यात्रा गर्दा दुर्घटना हुने जोखिम बढी हुने र कतिपय स्थानमा त दुर्घटना पनि भएका छन् ।
गत साउनयता मङ्सिर २८ गतेसम्म सानाठूला गरी काठमाडौँ उपत्यकामा एक हजार ८६६ सडक दुर्घटना भएका छन् भने ६७ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी एक सय ११ जना गम्भीर घाइते भएको तथ्याङ्क महानगरीय ट्राफिक महाशाखा रामशाहपथसँग छ । महाशाखाका अनुसार एक हजार ५०० साधारण घाइते भएका छन् ।
महाशाखाका प्रवक्ता पोेषराज पोखरेलले छतमै यात्रा गरेका कारण दुर्घटना नघटेको जिकिर गर्नहुन्छ । उहाँले गाडीको छतमा बसेर यात्रा गर्नाले दुर्घटना हुने सम्भावनालाई बढाए पनि अहिलेको अवस्थामा त्यसलाई रोक्न नसकिने बताउनुहुन्छ । उहाँले भन्नुभयो—‘व्यावहारिक रुपमा पनि अहिले गाडीवालाई छतमा राख्न रोक्न मिल्ने अवस्था छैन, बरु ओभरलोड भएका समयमा चालक र यात्रुलाई दुर्घटना हुन सक्छ भनी सजग गराउने गरेका छौँ ।’
“कम मात्रामा सवारी साधन चल्दा यात्रु आफँै छतमा बस्छौँ भनी आउँछन्, रोक्न मिल्दैन, सबैलाई लानुपर्छ” चक्रपथमा गाडी चलाउने चालक नवराज नेपाल भन्नुहुन्छ । चालक प्रभुनाथ अधिकारी पनि यात्रु जबरर्जस्ती छत
मा यात्रा गर्न चाहने भएका कारण तिनलाई छतमा राखेर यात्रा गराउनुपर्ने बाध्यता भएको बताउनुहुन्छ ।
मध्य उपत्यका बस समितिका कर्मचारी दुर्गालाल श्रेष्ठले समितिले गाडीवालालाई छतमा नराख्न पटक पटक आग्रह गरे पनि यात्रुले नमान्दा छतमा राखेर यात्रा गराउनुपरेको बताउनुभयो । उहाँले भन्नुभयो,“ इन्धन अभावका कारण बस तथा माइक्रोबस कम मात्रामा चलेका कारण मानिसलाई छतमा यात्रा गर्नुको विकल्प छैन ”उल्लेख गर्नुभयो । उहाँले काठमाडौँ उपत्यकामा दैनिक ७० भन्दा बढी बस चल्नुपर्नेमा २५ मात्र चल्दा छतको यात्रा बाध्यता भएको बताउनुभयो ।
अर्का चालक प्रकाश सापकोटा पुरुष मात्र नभई महिलाले पनि छतमा बसेर यात्रा गर्न जिद्दी गर्ने गरेको अनुभव सुनाउँदै आफूले भने महिलालाई छतमा बस्न नदिने गरेको सुनाउनुभयो ।
महाशाखाका अनुसार भारतको अघोषित नाकाबन्दी सुरु भएको असोजमा ३२८, कात्तिकमा २५३ र मङ्सिरमा ३४२ सडक दुर्घटना भएका छन् । यस महिनामा १४ जनाले ज्यान गुमाएका छन् भने २५ जना गम्भीर घाइते भएका छन् । प्रवक्ता पोखरेलले इन्धन सहज हुनासाथ नै आफूहरुले छतमा बस्ने र गाडीको उच्च चापलाई रोक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
![]() |
Post a Comment